‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन?’
यातायात कार्यालय कास्कीमा पनि छिट्टै टोकन सिस्टम
पाेखरा | मंसिर २१, २०८१
पोखरा: यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् ।
शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए ।
त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो ?
निमित्त प्रमुख गौतमले आफूहरुकै निगरानीमा फाइल हेरिने गरेको जवाफ दिए । त्यसपछि मन्त्री केसीले प्रश्न गरे – कर्मचारीले सबै निगरानी गरेर भ्याउनुहुन्छ ?
कार्यालय प्रमुख गौतमले सीसी क्यामेराबाट पनि निगरानी गर्ने गरेको दाबी गरे ।
त्यसपछि मन्त्री केसीले त्यसरी पहुँच दिँदा कुनै कमजोरी भए जिम्मा कसले लिने भनेर निमित्त प्रमुख गौतमलाई प्रश्न गरे ।
निमित्त प्रमुख गौतमले अबदेखि बाहिरी व्यक्तिलाई फाइल र ढड्डामा पहुँच नदिने बताए ।
मन्त्री केसीले सेवा प्रवाहमा टोकन सिस्टम लागु भए÷नभएको विषयमा चासो राखे । टोकन सिस्टम लागु नभएको जानकारी पाएपछि मन्त्री केसीले टोकन सिस्टम तत्काल लागु गर्न निर्देशन दिए ।
‘काठमा नम्बर खोपेर हुन्छ कि पेपरमा नम्बर लेखेर, कार्यालयको छाप हानेर हुन्छ तत्काल सुरु गर्नू,’ मन्त्री केसीले भने । निमित्त प्रमुख गौतमले आइतबारदेखि टोकन सिस्टम लागु गर्ने जवाफ दिए ।
निमित्त प्रमुख गौतमले सडक एकतर्फी भएको हुँदा पार्किङ र आवतजावतमा समस्या भइरहेको मन्त्री केसीलाई जानकारी गराए ।
कार्यालय छेउमा रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने विकल्प उनले देखाए ।
निमित्त प्रमुख गौतमले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म ४३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी मन्त्री केसीलाई गराए ।
मन्त्री केसीले शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रको पनि निरीक्षण गरे । उनले कार्यालय प्रमुख मिलन केसीसँग कार्यालयको सेवा प्रवाह र समस्याबारे ब्रिफिङ लिए ।
ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख केसीलाई निर्देशन दिए ।
सेवा प्रवाहमा कुनै अनियमित गतिविधि भएको थाहा पाएमा कारबाही गर्ने चेतावनी दिए । उनले दुवै कार्यालय प्रमुखलाई कार्यालयले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।
मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, यातायात महाशाखा प्रमुख अनिल सुवेदीलगायत पनि कार्यालय निरीक्षणमा पुगेका थिए ।
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

